काठमाडौं,१२ जेठ । काठमाडौं महानगर क्षेत्र अन्तर्गत गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ।
नगरपालिकाले सोमबार जारी गरेको सूचनाअनुसार वडा नं. २, ३ र ४ मा संक्रमण देखिएपछि नियन्त्रणका लागि तीव्र रूपमा कार्य अघि बढाइएको छ। प्रभावित क्षेत्रका कुखुरा, हाँस, बट्टाई, लौकाटलगायत पन्छीहरू, अण्डा र दाना सुरक्षित तरिकाले नष्ट गरी खाल्डोमा गाड्ने तथा क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने काम भइरहेको जनाइएको छ।
संक्रमण फैलिन नदिन पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको छ। अत्यावश्यक अवस्थामा प्रवेश गर्नुपरेमा अनिवार्य रूपमा निसंक्रमण प्रक्रिया अपनाउनुपर्ने नियम लागू गरिएको छ।
नगरपालिकाले एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भएका अण्डाका क्रेट पुनः प्रयोग गर्न नपाइने तथा फार्म प्रवेशद्वारमा निसंक्रामक औषधि प्रयोग गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेको जनाएको छ। कृषकहरूलाई खोरमा जाँदा छुट्टै बुट र एप्रोन प्रयोग गर्न र नियमित रूपमा खोर सफा तथा निसंक्रमण गर्न निर्देशन दिइएको छ।
त्यसैगरी, कुकुर, बिरालो र मुसा जस्ता जनावरहरूलाई फार्म क्षेत्रमा प्रवेश गर्न नदिन र अचानक मरेका पन्छीहरूलाई सुरक्षित रूपमा गाड्न आग्रह गरिएको छ। पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने नियम पनि कडाइका साथ कार्यान्वयन गरिने भएको छ।
नगरपालिकाले मासु तथा अण्डाजन्य परिकार राम्ररी पकाएर मात्र सेवन गर्न आग्रह गर्दै, ठूलो संख्यामा पन्छी बिरामी वा मृत अवस्थामा भेटिएमा तुरुन्तै सम्बन्धित निकायमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ।



