बीरगन्ज,१२ जेठ । टेक बहादुर शाक्यले पर्साको इलाका प्रशासन कार्यालय सुपौली मा देखिएको अव्यवस्था तथा सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीप्रति चासो व्यक्त गर्दै सोमबार आकस्मिक अनुगमन गरेका छन्।
टेक बहादुर शाक्य पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। आफ्नो निर्वाचन क्षेत्र जगरनाथपुरदेखि ठोरीसम्मका नागरिकबाट कार्यालयमा लामो समय लाइन बस्नुपर्ने, कर्मचारी समयमै उपस्थित नहुने तथा सेवा प्रवाह प्रभावकारी नभएको गुनासो लगातार आएपछि उनले अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा सेवाग्राहीहरूले कार्यालयको व्यवस्थापन कमजोर रहेको, चर्को घाममा घण्टौँ लाइनमा बस्न बाध्य हुनुपरेको तथा कर्मचारी अभावका कारण काममा ढिलाइ भइरहेको गुनासो गरेका थिए।
त्यसपछि सांसद शाक्यले कार्यालय प्रमुखसँग छलफल गर्दै कर्मचारी अभाव र कार्यशैली सुधार गर्न आवश्यक कदम चाल्न आग्रह गरे। उनले सेवाग्राही नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्न प्रशासनलाई निर्देशन समेत दिएका छन्।



