बीरगन्ज,१२ जेठ । मधेस प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूले ‘घुमौं मधेस, बुझौं प्रदेश’ भन्ने नारासहित गण्डकी प्रदेशमा अध्ययन तथा प्रवर्द्धनात्मक यात्रा सम्पन्न गरेका छन्। जेठ ८ गतेदेखि सुरु भएको यात्रा सोमबार औपचारिक रूपमा टुंगिएको हो।
नेपाल एशोसियन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार आगामी जेठ २८–३१ मा आयोजना हुने ‘मधेस टुरिजम मार्ट’ लाई लक्षित गर्दै गण्डकीका पर्यटन व्यवसायीहरूसँग सहकार्य विस्तार गर्ने उद्देश्यले उक्त यात्रा गरिएको हो।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको नेतृत्वमा ३५ जना व्यवसायी सहभागी उक्त टोलीले बन्दीपुर, पोखरा र सौराहा लगायतका प्रमुख पर्यटकीय गन्तव्यमा स्थानीय व्यवसायीहरूसँग अन्तरक्रिया गरेको थियो।
भ्रमणका क्रममा गण्डकी प्रदेशमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई मधेसका विभिन्न गन्तव्यसम्म आकर्षित गर्ने सम्भावनाबारे छलफल गरिएको महासंघका अध्यक्ष हिरा गौतमले जानकारी दिए। उनले अन्तर–प्रदेश सहकार्यमार्फत पर्यटन प्रवर्द्धनलाई नयाँ आयाम दिने अपेक्षा गरिएको बताए।
टोलीले बन्दीपुरमा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापासहित स्थानीय सरोकारवालासँग छलफल गरेको थियो भने पोखरामा ‘पोखरा भ्रमण वर्ष’ अभियानसँग सम्बद्ध व्यक्तिहरूसँग भेटघाट गरेको थियो। त्यस्तै, सौराहामा क्षेत्रीय होटल संघका प्रतिनिधिहरूसँग पर्यटन सहकार्यका विषयमा संवाद गरिएको थियो।
आगामी ‘मधेस टुरिजम मार्ट’ मार्फत पर्सा राष्ट्रिय निकुञ्ज, जनकपुरधाम र सखडा भगवती जस्ता प्रमुख गन्तव्यको प्रवर्द्धन गरिने जनाइएको छ। कार्यक्रममा नेपालका साथै भारतका विभिन्न सहरबाट होटल व्यवसायी, टुर अपरेटर तथा डिजिटल कन्टेन्ट क्रियटरहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
नेपाल पर्यटन बोर्ड को आयोजना, नाट्टा मधेस प्रदेशको संयोजन तथा विभिन्न स्थानीय तह र संघसंस्थाको सहकार्यमा हुन लागेको उक्त मार्टले मधेस प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।



