मकवानपुर,१२ जेठ । हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलस्थित डेरामा श्रीमानको कुटपिटबाट एक महिलाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका निवासी ४२ वर्षीया ओमकुमारी भुजेलको कुटपिटका कारण मृत्यु भएको हो। घटनामा संलग्न उनका श्रीमान ४५ वर्षीय रामलाल ब्लोनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार मंगलबार बिहान करिब १०:३० बजे ब्लोनले आफ्नी श्रीमतीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। घटनापछि तत्काल प्रहरी चौकी चौकिटोलबाट खटिएको टोलीले भुजेललाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो।
उपचारकै क्रममा बिहान करिब ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार मृतकको शरीरका विभिन्न भाग—मुख, हातखुट्टा र ढाडमा निलडाम चोट देखिएको छ।
घटनामा संलग्न ब्लोनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



