काठमाडौं,१२ जेठ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित हुने विषयमा निरन्तर संवाद भइरहेको जानकारी दिएका छन्। उनले छिट्टै नै उपस्थितिको मिति तय हुने विश्वास व्यक्त गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभामुख अर्यालले प्रधानमन्त्रीको उपस्थितिको विषयमा विपक्षी र सत्तापक्ष दुवै पक्षका नेताहरूसँग छलफल भइरहेको बताए। उनका अनुसार प्रधानमन्त्री पनि सदनमा उठेका विषयबारे जानकार छन् र उपस्थित हुने तयारीमा छन्।
प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले बैठकमा अवरोध जारी राखेपछि सभामुखले उनीहरूलाई आश्वस्त पार्दै कार्यसूची अघि बढाउन आग्रह गरेका थिए। उनले “प्रधानमन्त्रीसँग मेरो संवाद भइरहेको छ, उहाँ आउने तयारीमा हुनुहुन्छ” भन्दै सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे।
यद्यपि, विपक्षी दलहरूले पुनः प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न माग दोहोर्याएपछि सभामुखले सत्तापक्षका प्रमुख सचेतकबाट प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीले छिट्टै सदनमा उपस्थित भएर उठेका जिज्ञासाहरू सम्बोधन गर्ने बताए। प्रधानमन्त्रीको उपस्थिति कहिले हुने भन्ने विषयमा औपचारिक मिति भने अझै तय हुन बाँकी रहेको छ।



