काठमाडौं,१२ जेठ । बालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरलाई वास्तविक र प्रत्यक्ष रूपमा सुधार गर्ने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित भेटवार्तामा युरोपेली सङ्घ तथा सदस्य राष्ट्रका राजदूतहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री शाहले वर्तमान सरकार सुशासन, आर्थिक समृद्धि र राजनीतिक स्थायित्वप्रति स्पष्ट रूपमा केन्द्रित रहेको बताएका हुन्।
प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी विकासका पक्षमा जनताबाट स्पष्ट जनादेश दिएको उल्लेख गर्दै सरकार परिवर्तन भए पनि मुलुकको नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारे। उनले लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थिरता र पारदर्शी शासन प्रणालीलाई सरकारको प्राथमिकतामा राखिएको बताए।
उनले नेपाललाई विश्व बजारसँग अझ प्रभावकारी रूपमा जोड्ने, विदेशी लगानी आकर्षित गर्ने तथा नवप्रवर्तन र दिगो विकासलाई प्रोत्साहन गर्ने नीति सरकारले अघि बढाएको जानकारी दिए। व्यापार, हरित ऊर्जा, पर्यटन, जलवायु परिवर्तनलगायत क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न नेपाल तयार रहेको पनि उनले बताए।
विदेश नीतिका विषयमा प्रधानमन्त्री शाहले नेपालले सन्तुलित, व्यावहारिक र सार्वभौम समानतामा आधारित कूटनीतिक सम्बन्धलाई निरन्तरता दिने स्पष्ट पारे। उनले विकास साझेदार राष्ट्रहरूको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले शान्ति स्थापना गर्न युद्धभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
भेटका क्रममा युरोपेली सङ्घ तथा अन्य मित्रराष्ट्रका राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै नयाँ सरकारलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए। साथै उनीहरूले आर्थिक विकास र लगानीका क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।



