spot_img

चीनमाथि नेपालको विशाल जीत

spot_img
spot_img

काठमाडौँ,१७ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एशियाली खेलकुद छनोट प्रतियोगितामा शानदार सुरुआत गर्दै चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको छ। सिङ्गापुरमा सम्पन्न उद्घाटन खेलमा नेपालले ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै एकपक्षीय जीत दर्ता गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल तयार गरेको थियो। नेपालको इनिङ्समा कुशल भुर्तेल नायक बने। उनले मात्र ४३ बलमा १६ छक्का र ५ चौकाको मद्दतमा विस्फोटक १२९ रनको शतकीय इनिङ्स खेले।

यस्तै कुशल मल्लले अविजित ८५ रन तथा कप्तान रोहित पौडेलले ६९ रनको महत्वपूर्ण योगदान दिए। चीनका मा क्वानचेङ र देङ जिनकीले समान एक–एक विकेट लिए।

३१४ रनको कठिन लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमै समेटियो। चीनका लागि शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाए पनि अन्य ब्याटरहरूले नेपाली बलिङसामु टिक्न सकेनन्।

नेपालको जीतमा कुशल मल्लले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे।

यो स्कोर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको दोस्रो उच्च योगफल हो। यसअघि नेपालले सन् २०२३ मा एशियाली खेलकुदअन्तर्गत मङ्गोलियाविरुद्ध ३१४ रन बनाएर कीर्तिमान कायम गरेको थियो।

खेलका क्रममा कुशल भुर्तेलले नवौँ ओभरमा लगातार ६ छक्का प्रहार गर्दै अर्को ऐतिहासिक उपलब्धि पनि हासिल गरे। उनी एकै ओभरमा ६ छक्का हान्ने नेपालका दोस्रो तथा विश्व क्रिकेटका छैटौँ खेलाडी बनेका छन्।

यस प्रभावशाली जीतसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा पुगेको छ। समूहमा नेपाल, चीन र मलेशिया रहेका छन्। कतारले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि समूहमा तीन टोली मात्र सहभागी भएका हुन्। प्रतियोगिताको समूह ‘बी’ मा बहराइन, हङकङ, ओमान र आयोजक सिङ्गापुर रहेका छन्।

नेपालले प्रतियोगिताको पहिलो खेलमै बलियो सन्देश दिँदै उपाधि दाबेदारीलाई थप मजबुत बनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय