जनकपुर,२२ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विपद् तथा आपतकालीन अवस्थामा सुरक्षाकर्मी र उद्धारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण, जिम्मेवार र प्रशंसनीय रहेको बताएका छन्।
सर्लाहीको बागमतीमा आयोजित ‘मधेश प्रदेशस्तरीय अभ्यास हातेमालो–८, २०८३’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्राकृतिक विपद्का समयमा जनधनको सुरक्षा र उद्धार कार्यमा सुरक्षाकर्मीहरूले निर्वाह गर्दै आएको योगदानको उच्च मूल्यांकन गरे।
“आपतकालीन परिस्थितिमा सुरक्षाकर्मी र उद्धारकर्मीहरू नै नागरिकको पहिलो भरोसा बन्ने गरेका छन्,” उनले भने, “उहाँहरूको समर्पण, साहस र तत्परताले धेरैको ज्यान जोगिएको छ।”
मुख्यमन्त्री यादवले यस्ता अभ्यासले आगलागी, बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्का घटनामा सम्बन्धित निकायबीच समन्वय र तयारीलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले पछिल्ला वर्षहरूमा मनसुनजन्य विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै जलवायु परिवर्तन, अनियन्त्रित सहरीकरण, वन विनाश तथा नदी प्रणालीमा आएको असन्तुलनका कारण जोखिम थप गम्भीर बन्दै गएको बताए।
कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले विपद् व्यवस्थापनलाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै सुरक्षा निकायहरूसँग प्रभावकारी समन्वयमार्फत विपद्का चुनौती सामना गरिने प्रतिबद्धता व्यक्त गरे।
अभ्यासका क्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय सेवा दल (एनसीसी) ले संयुक्त रूपमा आगलागी, बाढी, डुबान तथा उद्धारसम्बन्धी प्रतिकार्य अभ्यास प्रदर्शन गरेका थिए। कार्यक्रममा मुख्यमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
मनसुन सक्रिय हुनुअघि सम्भावित विपद्को पूर्वतयारी स्वरूप मधेश प्रदेशमा प्रत्येक वर्ष यस्ता अभ्यास सञ्चालन गरिँदै आएको छ। सरोकारवालाहरूका अनुसार यस्ता अभ्यासले विपद् व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्नुका साथै आपतकालीन अवस्थामा प्रभावकारी प्रतिकार्य गर्न सहयोग पुर्याउने गर्दछ।




