spot_img

पर्सामा धानको बीउ अभाव, भारतीय बजारमा किसान निर्भर

spot_img
spot_img

वीरगन्ज,२२ जेठ । पर्सा जिल्लाका किसानहरू यतिबेला धानखेतीका लागि आवश्यक गुणस्तरीय बीउको अभाव झेलिरहेका छन्। सरकारले किसानको रोजाइमा पर्ने तथा उच्च उत्पादन दिने सोना मन्सुली जातको बीउ पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्दा उनीहरू सीमावर्ती भारतीय बजारमा निर्भर हुन बाध्य भएका छन्।

स्थानीय किसानहरूका अनुसार सरकारी निकायको उदासीनताका कारण पर्साका विभिन्न गाउँका किसान भारतका इनर्वा, मैनाटार, बेतिया, सिकटा, बेलाही, रक्सौल, भङ्गाहा लगायतका बजारबाट धानको बीउ खरिद गर्न पुगेका छन्। ती बजारहरूबाट पान छाप, कल्याणी, गङ्गा कावेरी, सुवर्ण, सुफला तथा माइक्रो जस्ता विभिन्न ब्रान्डका सोना मन्सुली धानका बीउ नेपाल भित्रिने गरेका छन्।

तर यस्ता बीउहरू अधिकांश अवस्थामा सरकारी मापदण्डअनुसार परीक्षण र प्रमाणीकरणविनै प्रयोग भइरहेको किसानहरूको भनाइ छ। स्थानीय स्रोतका अनुसार दैनिक तीनदेखि चार हजार बोराभन्दा बढी धानको बीउ सीमावर्ती भारतीय बजारबाट नेपाल भित्रिने गरेको अनुमान गरिएको छ।

कृषि प्राविधिकहरूका अनुसार परीक्षण नगरिएका तथा अनधिकृत रूपमा भित्रिएका बीउ प्रयोग गर्दा धानबालीमा रोग फैलिने, बिरुवा सुक्ने तथा उत्पादनमा उल्लेखनीय गिरावट आउने जोखिम रहन्छ। यसले किसानको लगानी र मेहनत दुवै जोखिममा पार्न सक्ने उनीहरूको चेतावनी छ।

पटेर्वासुगौली गाउँपालिकाका किसान लालबहादुर यादवले स्थानीय सरकार किसानका आधारभूत समस्याप्रति गम्भीर नभएको गुनासो गरे। “कमिसन आउने योजनामा मात्र ध्यान दिने प्रवृत्ति छ, हाम्रो समस्या सुन्ने कोही छैन,” उनले भने। कृषिप्रधान देश भनिए पनि मुख्य बाली लगाउने समयमा बीउका लागि छिमेकी देशमा निर्भर हुनुपर्ने अवस्था विडम्बनापूर्ण भएको उनको भनाइ छ।

यता सखुवाप्रसौनी गाउँपालिकाका कृषि प्राविधिक दयाराम वाग्लेले किसानको मागअनुसार बीउ उपलब्ध गराउन नसकिएको स्वीकार गरेका छन्। उनका अनुसार समयमै पर्याप्त मलखाद र बीउ उपलब्ध नहुँदा समस्या उत्पन्न भएको हो। “अनुदानमार्फत पनि पर्याप्त बीउ नआएकाले आवश्यक परिमाणमा वितरण गर्न सकिएको छैन,” उनले बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय