जनकपुर,२२ जेठ । नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेको जानकी मन्दिरलाई युनेस्कोको विश्वसम्पदा सूचीमा समावेश गराउने प्रयास एक दशकभन्दा बढी समयदेखि जारी रहे पनि अझै निष्कर्षमा पुग्न सकेको छैन।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिर हिन्दु धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित छ। मिथिला सभ्यता, धार्मिक परम्परा र विशिष्ट वास्तुकलाको प्रतिनिधित्व गर्ने यो मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न विभिन्न समयमा सरकार, स्थानीय तह तथा सामाजिक संस्थाहरूले पहल गरेका भए पनि आवश्यक प्राविधिक प्रक्रिया र समन्वयको अभावले लक्ष्य पूरा हुन सकेको छैन।
नेपाल सरकारले सन् २००८ मै जानकी मन्दिरलाई युनेस्कोको सम्भावित (Tentative) सूचीमा समावेश गरेको थियो। तर त्यसपछि आवश्यक अनुसन्धान, संरक्षण योजना, व्यवस्थापन प्रणाली तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्राविधिक दस्तावेज तयार गर्ने काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।
संस्कृति तथा पुरातत्त्व क्षेत्रका विज्ञहरूका अनुसार जानकी मन्दिरमा धार्मिक महत्वसँगै ऐतिहासिक र कलात्मक मूल्य पनि उच्च रहेको छ। उनीहरू विश्वसम्पदा सूचीमा समावेश हुन दीर्घकालीन संरक्षण रणनीति, वैज्ञानिक अध्ययन, प्राविधिक तयारी र तीनै तहका सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउँछन्।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। उनका अनुसार मन्दिर आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न आवश्यक नक्साङ्कन कार्य सम्पन्न गरी पुरातत्त्व विभागलाई हस्तान्तरण गरिसकिएको छ।
विश्वसम्पदा विज्ञ तथा परराष्ट्रविद् डा. रामबाबु ढकालका अनुसार कुनै पनि सम्पदालाई विश्वसम्पदा सूचीमा समावेश गर्नुअघि त्यसको ऐतिहासिक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्वको अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने गरी प्रमाणिकरण गर्नुपर्छ। उनले जानकी मन्दिरका हकमा अझै धेरै प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा गर्न बाँकी रहेको बताए।
ढकालका अनुसार पहिलो चरणमा जानकी मन्दिरलाई औपचारिक रूपमा संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने हुन्छ, जसका लागि मन्त्रीस्तरीय निर्णय आवश्यक पर्छ। त्यसपछि मात्र विश्वसम्पदामा सूचीकृत हुने प्रक्रिया थप प्रभावकारी रूपमा अघि बढ्न सक्छ।
जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउने अभियान सन् २०१४ देखि सामाजिक संस्था ‘भोर’ले सक्रिय रूपमा अघि बढाएको थियो। अभियानअन्तर्गत देशव्यापी हस्ताक्षर सङ्कलन, जनचेतनामूलक कार्यक्रम तथा युनेस्को र नेपाल सरकारसमक्ष पहल गरिएका थिए। संस्थाका संयोजक राजकुमार महतोका अनुसार अभियानको प्रारम्भिक जिम्मेवारी स्थानीय नेतृत्वलाई हस्तान्तरण गरिए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन।
सन् १९११ मा मुगल शैलीमा निर्माण गरिएको जानकी मन्दिर ‘नौलखा मन्दिर’का नामले समेत परिचित छ। धार्मिक विश्वासअनुसार यहाँ स्थापित राम–जानकीका प्रतिमाहरू अझ प्राचीन मानिन्छन्। हरेक वर्ष नेपाल, भारत तथा अन्य मुलुकबाट हजारौं श्रद्धालु र पर्यटक यहाँ आउने गर्छन्।
स्थानीयवासी र सरोकारवालाहरूको विश्वास छ—यदि जानकी मन्दिर विश्वसम्पदा सूचीमा समावेश हुन सके जनकपुरधामको पर्यटन, व्यापार, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय पहिचानमा उल्लेखनीय टेवा पुग्नेछ। तर त्यसका लागि अब घोषणाभन्दा बढी प्रभावकारी कार्यान्वयन र संस्थागत समन्वय आवश्यक देखिएको छ।




