spot_img

बीरगन्जसहित तराईका बजारमा कार्बाइटले पकाइएका आँपको बिगबिगी

spot_img
spot_img

बीरगन्ज,२२ जेठ । बीरगन्जसहित तराईका विभिन्न बजारमा प्रतिबन्धित रसायन कार्बाइट प्रयोग गरी कृत्रिम रूपमा पकाइएका आँप खुलेआम बिक्री भइरहेको पाइएको छ। मानव स्वास्थ्यका लागि हानिकारक मानिने यस्तो रसायन प्रयोग भएका आँप बजारमा छ्याप्छ्याप्ती पाइएपछि उपभोक्ताहरू चिन्तित बनेका छन्।

उपभोक्ताका अनुसार वीरगञ्जका साथै बाराको कलैया, जितपुर–सिमरा तथा पर्साको पोखरिया क्षेत्रका बजारहरूमा समेत कार्बाइट प्रयोग गरेर पकाइएका आँप बिक्री भइरहेका छन्। प्राकृतिक रूपमा पाक्न समय लाग्ने आँपलाई व्यापारीहरूले गोदाममा राखेर रसायन प्रयोगमार्फत छिट्टै पहेंलो बनाई बजारमा पठाउने गरेको आरोप छ।

व्यापारीहरूले भारतका विभिन्न राज्य तथा पूर्वी नेपालबाट ल्याइएका काँचो आँप कम मूल्यमा खरिद गरी कार्बाइट प्रयोगपछि दोब्बरभन्दा बढी मूल्यमा बिक्री गर्ने गरेको बताइएको छ। बजारमा यस्ता आँप प्रतिकिलो १ सयदेखि १ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको उपभोक्ताहरूको भनाइ छ।

बीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका एक पदाधिकारीका अनुसार सिजनको सुरुवातमा भारतका गोवा, केरला, मद्रास र आन्ध्र प्रदेशलगायत क्षेत्रबाट आँप आयात हुने गर्छ भने असार लागेपछि पूर्वी तराईका जिल्लाबाट पनि बजारमा आँप आउन थाल्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार कार्बाइट प्रयोग गरेर पकाइएका फलफूल सेवन गर्दा विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छन्। नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहका अनुसार यस्ता फलफूलको नियमित सेवनले टाउको दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, पाचन प्रणालीमा असर पर्ने तथा दीर्घकालीन रूपमा अन्य गम्भीर स्वास्थ्य जोखिमसमेत निम्त्याउन सक्छ।

खाद्य ऐन २०२३ ले कार्बाइट प्रयोग गरी फलफूल पकाउने कार्यलाई स्पष्ट रूपमा प्रतिबन्ध लगाएको छ। कानुनअनुसार यस्तो कार्यमा संलग्न व्यक्तिलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

तर प्रतिबन्धित रसायन प्रयोग भएका आँप खुलेआम बिक्री भइरहँदा पनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन हुन नसकेको भन्दै उपभोक्ताहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले बजार अनुगमनलाई तीव्र बनाउँदै दोषी व्यवसायीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

फलफूलको सिजन सुरु भएसँगै विषादीयुक्त तथा कृत्रिम रूपमा पकाइएका फलफूलको बिक्री बढ्न थालेकाले उपभोक्ताले खरिद गर्दा विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय