बीरगन्ज्,२२ जेठ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रामा रहेको त्रिवेणी स्पाइनिङ धागो उद्योगमा शुक्रबार बिहान भीषण आगलागी भएको छ।
प्रारम्भिक जानकारीअनुसार बिहान करिब १०ः४० बजे उद्योगभित्र विद्युत् सर्ट भएर आगो लागेको बताइएको छ। आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण वैठाको नेतृत्वमा ६ जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो। त्यस्तै, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादवको कमाण्डमा ४ जना प्रहरी र औद्योगिक सुरक्षा बेस जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक एकवाल यादवको नेतृत्वमा ५ जना सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।
आगो नियन्त्रणका लागि जितपुरसिमरा र कलैया उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज तथा वीरगञ्ज महानगरपालिकाका गरी पाँच वटा दमकल प्रयोगमा ल्याइएको छ। स्थानीयवासीको सक्रिय सहयोगमा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
हालसम्म आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ भने आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




