बीरगन्ज,१९ जेठ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा बीरगन्ज नाकामार्फत करिब ७ अर्ब ९७ करोड रुपैयाँ बराबरको दलहन नेपाल भित्रिएको छ। विभिन्न सात प्रकारका गेडागुडी आयात भए पनि समग्र आयात अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको देखिएको छ।
बीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब २१ करोड रुपैयाँ बराबरको दलहन आयात भएको थियो। यस वर्ष भने करिब २ अर्ब २४ करोड रुपैयाँ (२२ प्रतिशत) ले गिरावट आएको हो।
सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सबैभन्दा बढी आयात हुने मुसुरो दालमा नै ठूलो कमी आएको छ। चालु वर्षमा ३ अर्ब २० करोड रुपैयाँ बराबरको मुसुरो आयात भएको छ, जुन गत वर्षको ४ अर्ब ५० करोडको तुलनामा उल्लेख्य रूपमा कम हो।
यसैगरी, सिमी/राजमाको आयात पनि घटेको छ। चालु आवमा २ अर्ब ४ करोड रुपैयाँ बराबरको सिमी/राजमा आयात हुँदा गत वर्ष सोही अवधिमा २ अर्ब ७४ करोड रुपैयाँको आयात भएको थियो। चनाको आयात पनि घटेर १ अर्ब ९२ करोडमा सीमित भएको छ, जबकि गत वर्ष २ अर्ब १७ करोड रुपैयाँ बराबरको चना भित्रिएको थियो।
अन्य गेडागुडीतर्फ पनि सामान्य गिरावट देखिएको छ। चालु आवमा ४२ करोड रुपैयाँ बराबरको आयात भएको छ भने अघिल्लो वर्ष यही अवधिमा ४५ करोड ८८ लाख रुपैयाँको आयात भएको थियो।
भन्सार अधिकारीहरूका अनुसार बजार माग, मूल्य उतारचढाव र वैकल्पिक आपूर्तिका कारण दलहन आयातमा कमी आएको हुनसक्ने अनुमान गरिएको छ।




