जनकपुर,१९ जेठ । जनकपुरधाम उपमहानगरपालिका–७ जिरो माइलस्थित फलफूल बजार हटाउने क्रममा डोजर चलाइएपछि व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।
उच्च अदालत जनकपुरको आदेशपछि उपमहानगरपालिकाको सहयोगमा बजारका संरचनाहरू हटाइएको हो। तर व्यवसायीहरूले भने पर्याप्त समय र वैकल्पिक व्यवस्था बिना बजार हटाइएको भन्दै आपत्ति जनाएका छन्।
व्यवसायीहरूले अदालतको आदेश स्वीकार गर्दै बजार सार्न तयार भए पनि कम्तीमा तीन महिनाको समय माग गरिएको जनाएका छन्। तर स्थानीय तहले त्यसतर्फ ध्यान नदिएको उनीहरूको आरोप छ।
जनकपुरधाम फलफूल व्यवसायी महासंघका महासचिव भुवनेश्वर पूर्वेले कुनै औपचारिक सूचना बिना डोजर लगाएर संरचना भत्काइएको दाबी गर्दै यसलाई अन्यायपूर्ण कदम भनेका छन्।
त्यसैगरी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले राज्यलाई ठूलो राजस्व तिर्दै आएका व्यवसायीलाई वैकल्पिक व्यवस्था बिना विस्थापित गर्नु उचित नभएको बताए। उनका अनुसार नयाँ स्थान व्यवस्थापनका लागि छलफल भइरहेको भए पनि जग्गा तथा करारसम्बन्धी प्रक्रिया अझै टुंगिन बाँकी छ।
यसअघि गुठीको जग्गामा सञ्चालन हुँदै आएको कृषि बजार हटाइएपछि व्यवसायीहरूले निजी जग्गा भाडामा लिएर फलफूल बजार सञ्चालन गर्दै आएका थिए। तर जग्गाधनीबीचको विवाद अदालतसम्म पुगेपछि उच्च अदालतले संरचना हटाउन आदेश दिएको थियो।




