spot_img

त्रिभुवन विमानस्थलभित्रका होटल–क्याफेमा छापा, ४ व्यवसायलाई १२ लाख जरिवाना

spot_img
spot_img

काठमाडौं,१९ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सञ्चालनमा रहेका विभिन्न होटल, रेस्टुरेन्ट तथा क्याफेमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता ठगी, सरसफाइमा लापरबाही र खाद्य गुणस्तरसम्बन्धी कमजोरी भेटिएपछि चार व्यवसायिक फर्मलाई कुल १२ लाख रुपैयाँ जरिवाना गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयुक्त टोलीले गरेको निरीक्षणमा केही व्यवसायीले अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी रकम असुलेर उपभोक्तामाथि ठगी गरेको पाइएको विभागले जनाएको छ।

अनुगमनका क्रममा साई किरण इन्टरप्राइजेज, टी–थ्री थकाली ग्रुप प्रा.लि., ओरिएन्टल होटल्स प्रा.लि.सान इन्टरप्राइजेजलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जनही ३ लाख रुपैयाँका दरले जरिवाना गरेको हो।

निरीक्षणका क्रममा ओरिएन्टल होटल्सको भान्सामा प्रयोग भइरहेको ३ लिटर फ्राइङ तेल मापदण्डविपरीत भेटिएपछि उक्त तेल र त्यसैमा तयार गरिँदै गरेको २ केजी समोसा नष्ट गरिएको छ। त्यस्तै, टी–थ्री थकाली ग्रुपको भण्डारण कक्षबाट म्याद गुज्रिएका खाद्य रङ र फ्लेभर फेला परेपछि ती सामग्री पनि नष्ट गरिएको विभागले जनाएको छ।

यसैबीच, होटल सोनिग र होराइजन क्याफेमा सरसफाइ तथा लेबलिङसम्बन्धी कमजोरी भेटिएको छ। दुवै स्थानबाट बटर मफिन र अन्य बेकरीजन्य परिकारका नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको छ। साथै, होराइजन क्याफेले आवश्यक लेबलबिनै खाद्य वस्तु बिक्री गरेको पाइएकाले सुधार गर्न निर्देशन दिइएको छ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार केही होटलका भान्सामा खुला डस्टबिन राखिएको, खाद्य सामग्री सुरक्षित रूपमा नछोपिएको तथा सरसफाइको अवस्था सन्तोषजनक नरहेको पाइयो। विभागले सम्बन्धित व्यवसायीलाई तत्काल सुधार गर्न निर्देशन दिँदै आगामी अनुगमनमा पनि कमजोरी दोहोरिए कडा कारबाही गरिने चेतावनी दिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय