काठमाडौं,२० जेठ । भारतको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता भएको छ। दुई नेताबीच भएको भेटलाई नेपाल–भारत सम्बन्धका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।
भेटका क्रममा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहकार्य, आर्थिक विकास तथा साझा हितका विविध विषयमा विस्तृत छलफल भएको बताइएको छ। भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै साझा समृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि भारत प्रतिबद्ध रहेको बताएका छन्।
भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै सभापति लामिछानेसँग भएको छलफललाई सकारात्मक र फलदायी रहेको उल्लेख गरेका छन्। उनले नेपालसँग निकट सहकार्य गर्दै विकास र समृद्धिका साझा लक्ष्य हासिल गर्न भारत तयार रहेको जनाएका छन्।
मोदीले भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाललाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन्। उनले नेपालको राजनीतिक स्थायित्व, आर्थिक उन्नति र क्षेत्रीय सहकार्यका प्रयासमा भारतको निरन्तर समर्थन रहने विश्वास व्यक्त गरेका छन्।
रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भ्रमणका लागि जेठ १८ गते भारत पुगेको हो। भ्रमणका क्रममा उनलाई भाजपा मुख्यालयमा स्वागत गरिएको थियो।
नयाँ दिल्ली बसाइका क्रममा सभापति लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर तथा गृहमन्त्री अमित शाहसँग समेत छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। ती भेटहरूमा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग र समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।
भ्रमण टोलीमा सभापति लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी रहेका छन्।
उक्त भ्रमणलाई नेपाल र भारतबीचको राजनीतिक संवाद तथा आपसी समझदारीलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।




