spot_img

भन्सार छुटको सीमा ५ हजार रुपैयाँ पुर्‍याउन राष्ट्रिय एकता दलको माग

spot_img
spot_img

बीरगन्ज,२० जेठ । राष्ट्रिय एकता दलले सीमा नाकाबाट आवतजावत गर्ने नेपाली नागरिकका लागि लागू गरिएको भन्सार छुट सम्बन्धी व्यवस्थालाई थप व्यावहारिक बनाउन सरकारसँग माग गरेको छ। दलले हाल कायम रहेको ५०० रुपैयाँसम्मको भन्सार छुट पर्याप्त नभएको भन्दै कम्तीमा ५ हजार रुपैयाँसम्मका निजी प्रयोगका सामानमा भन्सार महसुल छुट दिनुपर्ने धारणा सार्वजनिक गरेको हो।

दलका अध्यक्ष विनय यादवद्वारा जारी प्रेस विज्ञप्तिमा सीमावर्ती क्षेत्रका नागरिकको दैनिक आवश्यकता, आर्थिक अवस्था तथा नेपाल–भारतबीचको घनिष्ठ सामाजिक र पारिवारिक सम्बन्धलाई ध्यानमा राखेर भन्सार नीतिमा पुनर्विचार गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा सरकारले प्रारम्भिक रूपमा १०० रुपैयाँसम्मको छुटको व्यवस्था गरेपछि व्यापक जनगुनासो र विरोधका कारण उक्त सीमा बढाएर ५०० रुपैयाँ पुर्‍याएको उल्लेख गर्दै हालको व्यवस्था अझै पनि नागरिकको वास्तविक आवश्यकताअनुसार पर्याप्त नभएको दाबी गरिएको छ।

राष्ट्रिय एकता दलले सीमावर्ती क्षेत्रका नागरिक शिक्षा, स्वास्थ्य उपचार, पारिवारिक भेटघाट तथा दैनिक उपभोगका सामग्री खरिदका लागि नियमित रूपमा सीमापार आवतजावत गर्ने गरेको उल्लेख गर्दै उनीहरूको व्यवहारिक समस्यालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने जनाएको छ।

दलले ५ हजार रुपैयाँसम्मका निजी प्रयोगका सामानमा भन्सार छुट प्रदान गरिए सीमावर्ती नागरिकलाई राहत पुग्ने, प्रशासनिक झन्झट कम हुने तथा अनावश्यक विवाद न्यूनीकरण हुने विश्वास व्यक्त गरेको छ।

साथै, सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने, नागरिकमैत्री तथा व्यवहारिक नीति अवलम्बन गर्न सरकारलाई आग्रह गर्दै राष्ट्रिय एकता दलले जनताको आवश्यकता र हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा सरकारलाई आफ्ना मागप्रति संवेदनशील बन्न आग्रह गरिएको छ। दलले सीमावर्ती नागरिकका समस्यालाई बेवास्ता गरिए नागरिक अधिकार र जनहितको पक्षमा लोकतान्त्रिक आन्दोलन तथा संघर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय