बीरगन्ज,२० जेठ । जनमत पार्टीका नेता डा. सीके राउतले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर विभिन्न राजनीतिक टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै राउतले उक्त भ्रमणलाई मधेशी नेतृत्वलाई कमजोर बनाउने रणनीतिसँग जोडेर विश्लेषण गरेका छन्। उनले प्रधानमन्त्रीमा बालेनको विकल्प खडा गर्ने प्रयास भइरहेको दाबीसमेत गरेका छन्।
राउतले बिना नाम उल्लेख गर्दै एक मधेशी पहिलो पटक प्रधानमन्त्री बनेको प्रसंग उठाउँदै त्यसलाई कमजोर पार्ने र विकल्प खडा गर्ने षडयन्त्र भइरहेको आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण मधेशीलाई झन् अर्को सफाया गर्ने र तह लगाउने रणनीति नहोस्।’
उनका अनुसार विगतदेखि नै विभिन्न मधेशी नेताहरूलाई राजनीतिक रूपमा स्थापित हुन नदिइएको र पार्टी विभाजन, बदनाम, देशद्रोहको आरोप, गिरफ्तारी तथा अन्य राजनीतिक घटनाक्रममार्फत कमजोर बनाइएको छ।
राउतले अहिले राजनीतिक निशानामा प्रधानमन्त्री बालेन शाह रहेको दाबी गर्दै यसलाई गम्भीर राजनीतिक षडयन्त्रको रूपमा व्याख्या गरेका छन्।




