काठमाडौँ,२१ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल भोलि भारतीय विदेशमन्त्री एस. जयशङ्कर को निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार जेठ २२ देखि २४ गतेसम्म हुने उक्त भ्रमण नेपाल–भारतबीचको नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको हिस्सा हो। भ्रमणले दुई देशबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
नयाँ दिल्लीमा रहने क्रममा मन्त्री खनालले भारतीय समकक्षी जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटमा व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा विस्तृत छलफल हुने मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने दिशामा यो भ्रमण महत्वपूर्ण मानिएको छ।
मन्त्री खनाल जेठ २४ गते भ्रमण सम्पन्न गरी काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।




