बीरगन्ज,२१ जेठ । बीरगन्जमा जारी “प्रथम बीरगन्ज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत चौथो क्वार्टरफाइनल खेलमा साउथ जोन सेकेण्ड्री स्कूल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। आज आदर्शनगर फुटबल मैदानमा भएको खेलमा साउथ जोनले अल्पाइन माध्यमिक विद्यालयलाई ३–० को फराकिलो अन्तरले हरायो।
खेलको सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको साउथ जोनले विपक्षी टोलीमाथि दबाब कायम गर्दै तीन गोल गर्ने सफलता हासिल गर्यो। टोलीका खेलाडीहरूले उत्कृष्ट समन्वय र अनुशासनका साथ खेल प्रस्तुत गर्दै सहज जित पक्का गरे।
प्रतियोगिता बीरगन्ज यूथ एकेडेमीको आयोजना तथा मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलको सह-आयोजनामा भईरहेको छ। प्रतियोगिता जेठ १८ देखि २५ गतेसम्म सञ्चालन हुने तालिका रहेको छ, र फाइनल खेल जेठ २५ गते हुनेछ।
समाजसेवी तथा अधिवक्ता प्रकाश उपाध्यायले प्रतियोगितालाई अझ आकर्षक बनाउन विशेष सहयोग गर्दै, हरेक खेलको ‘म्यान अफ द म्याच’ खेलाडीलाई दैनिक १,००० रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका छन्।
आयोजकहरूले भनेका छन् कि प्रतियोगिताबाट विद्यालयस्तरमा फुटबलको विकास, प्रतिभाशाली खेलाडीहरूको पहिचान र विद्यार्थीहरूमा खेलकुदमा रुचि अभिवृद्धि हुने विश्वास गरिएको छ। सेमिफाइनल चरण अझ प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ।




