काठमाडौं,२२ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
बिहीबार प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला ५५ रुपैयाँको कमी आएको छस हिजो ५ हजार २८५ रुपैयाँ रहेको चाँदी आज ५ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।
केही दिनअघि सार्वजनिक बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएपछि बजारमा मूल्यको चाप ह्वात्तै बढेको थियो । महासंघका अनुसार भन्सार दरमा भएको यही वृद्धिका कारण मात्रै प्रतितोला करिब २० हजार रुपैयाँ मूल्य थपिन पुगेको हो ।
एक साताअघिको तुलनामा मूल्य उच्च विन्दुमा रहे तापनि आज देखिएको यो सामान्य गिरावटले उपभोक्तालाई केही राहत महसुस गराए पनि बजारमा भन्सार दर वृद्धिको प्रभाव अझै कायम रहेको प्रस्ट हुन्छ ।




