बीरगन्ज,२३ जेठ । काठमाडौंमा जारी १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा मधेस प्रदेशले दुई स्वर्णसहित ६ पदक जितेको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा मधेसले दुई स्वर्ण, दुई रजत र दुई कास्य जितेको हो।
एथलेटिक्स अन्य खेलमा निराशाजनक नतिजा निकालेको मधेसका लागि तेक्वान्दोले भने राहत दिएको छ। मधेसको साख जोगाउने क्रममा बाराका समीर नेपाली र धनुषाकी खुशी ठाकुरले स्वर्ण जिते। समीरले ४५ केजी तथा खुशीले ५२ केजी तौल समूहमा स्वर्ण जितेका हुन्।
यसैगरी ४६ केजी महिलामा बाराकी रिगल बोहोरा तथा ५९ केजी पुरुषमा बाराकै दिलबहादुर तामाङले रजत जितेका छन्। यस्तै महोत्तरीकी क्याट्रिना फुयाँलले ४९ केजी र सिरहाका अनिस यादवले ५५ केजीमा कास्य जितेका छन्।
तेक्वान्दो खेलतर्फ विभिन्न तौल समूहमा मधेस प्रदेशबाट ६ पुरुष तथा ६ महिला गरी १२ जना खेलाडी छनौट भएका थिए। जसमध्ये १० जना क्योरुगी र दुई जना पुम्सेतर्फका थिए। तेक्वान्दो खेलको अन्तिम नतिजा अनुसार मधेस प्रदेश पदक तालिकामा तेस्रो भएको छ। पाँच स्वर्ण, तीन रजत र तीन कास्यसहित बागमती प्रथम हुँदा दुई स्वर्ण, दुई रजत र तीन कास्यसहित सुदूरपश्चिम दोस्रो भएको छ।
यसैगरी एक स्वर्ण, तीन रजत र पाँच कास्यसहित लुम्बिनी चौथो भएको छ। पाचौं स्थानमा रहेको कोशीले एक स्वर्ण, एक रजत र चार कास्य जितेको छ भने समान पदक जितेको गण्डकी छैठौं स्थानमा छ। तीन कास्य मात्रै जितेको कर्णाली भने सातौं स्थानमा सीमित भएको छ।




