वीरगन्ज,२२ जेठ । मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म धान र मकैको आयात घटेको छ भने चामल, गहुँ र कनिकाको आयात उल्लेख्य रूपमा बढेको देखिएको छ।
भन्सार तथ्यांकअनुसार चालु आवको वैशाखसम्म करिब १० अर्ब ९४ करोड रुपैयाँ बराबरको २७ करोड २२ लाख किलो धान आयात भएको छ, जुन गत आवको सोही अवधिको ११ अर्ब ३६ करोड रुपैयाँ बराबरको २९ करोड २५ लाख किलोको तुलनामा कम हो। स्वदेशी उत्पादनमा सुधार र बजार व्यवस्थापनका कारण धान आयात घटेको अनुमान गरिएको छ।
त्यसैगरी, मकैको आयात पनि घटेको छ। चालु आवमा ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको ११ करोड १४ लाख किलो मकै आयात भएको छ, जबकि गत आवमा यही अवधिमा ९ अर्ब ४९ करोड रुपैयाँ बराबरको १६ करोड १३ लाख किलो आयात भएको थियो। यसलाई स्वदेशी उत्पादन वृद्धि र वैकल्पिक दानाको प्रयोगसँग जोडेर हेरिएको छ।
तर, चामल, गहुँ र कनिकाको आयात भने उकालो लागेको छ। चालु आवमा २ अर्ब ८५ करोड रुपैयाँ बराबरको २ करोड ९५ लाख किलो चामल आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो। उपभोक्ताको माग, होटल तथा खाद्य उद्योगको विस्तार र प्रशोधित खाद्यान्नको प्रयोग बढेसँगै चामल आयात बढेको बताइएको छ।
गहुँ र कनिकाको आयातमा पनि वृद्धि देखिएको छ। चालु आवमा २८ करोड रुपैयाँ बराबरको ६५ लाख १९ हजार किलो गहुँ आयात भएको छ भने कनिकाको आयात ४ करोड रुपैयाँ बराबरको ८ लाख किलो पुगेको छ। खाद्य उद्योगमा कच्चा पदार्थको माग बढेसँगै यी वस्तुको आयात बढेको जनाइएको छ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमका अनुसार खाद्यान्न आयातको संरचनामा आएको परिवर्तनले उपभोग प्रवृत्ति, उद्योगको आवश्यकता र स्वदेशी उत्पादनको अवस्थालाई संकेत गर्छ। उनले धान र मकैको आयात घट्नु सकारात्मक भए पनि प्रशोधित खाद्यान्नमा बढ्दो निर्भरता खाद्य आत्मनिर्भरताका लागि चुनौतीपूर्ण रहेको बताए।
उनका अनुसार दीर्घकालीन समाधानका लागि मुलुकलाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउनेतर्फ विशेष ध्यान दिन आवश्यक छ।




