काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थ–राजनीतिमा लामो समयदेखि कायम रहेको संस्थागत र नीतिगत कब्जाको युग अन्त्यतर्फ उन्मुख भएको दाबी गरेका छन्। उनले सुशासन, स्वस्थ प्रतिस्पर्धा र डिजिटलीकरणमार्फत सार्वजनिक सेवा प्रवाहमा व्यापक सुधार ल्याउने सरकारको योजना रहेको बताएका छन्।
नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब सुशासन, स्वस्थ प्रतिष्पर्धा र डिजिटलीकरणमार्फत सेवा प्रवाहमा व्यापक सुधार गरिने बताए । राज्यले बलियो नियामक र अवसर सिर्जना गर्ने भूमिका निर्वाह गर्ने तथा निजी क्षेत्रले उत्पादन, लगानी, रोजगारी सिर्जना र कर योगदानमार्फत अर्थतन्त्रलाई गतिशील बनाउने उनको भनाइ थियो।
उनले नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउन डिजिटलीकरणलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए। नागरिक एपमार्फत सयौँ सरकारी सेवा उपलब्ध गराउने, कम्पनी दर्ताजस्ता प्रक्रियालाई सरल बनाउने र प्रशासनिक झन्झट घटाउने काम तीव्र गतिमा अघि बढाइएको उनले बताए।
मन्त्री वाग्लेका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा डिजिटल शासनको एजेन्डा कार्यान्वयन भइरहेको छ। पूर्वाधार विकास आयोजनामा देखिएका ठेक्का प्रक्रिया, सार्वजनिक खरिद, जग्गा प्राप्ति तथा मुआब्जासम्बन्धी जटिल समस्याको समाधानका लागि कानुनी र नीतिगत सुधार पनि अघि बढाइएको छ।
उनले सरकारको पहिलो वर्षमै सुधारका महत्वपूर्ण आधार तयार भएको दाबी गर्दै डेढ सयभन्दा बढी कानुन संशोधन तथा व्यवस्थापनका काम अघि बढाइएको र १५ भन्दा बढी अप्रासंगिक कानुन खारेज गरिएको जानकारी दिए। आगामी दिनमा पनि सुधारको यही गति कायम रहने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सरकारको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै निजी क्षेत्र, सञ्चारमाध्यम र आम नागरिकको विश्वास, सहकार्य तथा साझेदारीबिना सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताए।




