काठमाडौं,२३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब–किताब खोज्ने र त्यसको आधारमा पदोन्नति वा अवसरको अपेक्षा गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी स्थापना भएको छोटो अवधिमै यस्ता प्रवृत्तिहरू देखिनु संगठनका लागि सकारात्मक संकेत नभएको बताएका हुन्।
“पार्टीमा कसले कति योगदान गर्यो भन्ने हिसाब खोज्ने र त्यसअनुसार अवसरको दाबी गर्ने संस्कार समयमै सच्याउन आवश्यक छ,” उनले उल्लेख गरेका छन्।
आगामी केन्द्रीय महाधिवेशनको तयारी भइरहेका बेला विशेषगरी मधेशसहित केही जिल्लामा नेतृत्व चयनलाई लिएर देखिएका प्रतिस्पर्धा र विवादलाई लोकतान्त्रिक ढंगले व्यवस्थापन गर्नुपर्ने उनले बताएका छन्।
उनका अनुसार संगठनभित्र विचार, नेतृत्व र भूमिकाका विषयमा प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसले पार्टीको मूल उद्देश्य र एकतालाई कमजोर बनाउन नहुनेमा ध्यान दिन आवश्यक छ।
सभापति लामिछानेले रास्वपा आजको अवस्थामा पुग्नु कुनै एक नेता वा व्यक्तिको प्रयासले मात्र सम्भव नभएको स्पष्ट पारे। उनले पार्टीको सफलता मतदाताको विश्वास, समर्थकहरूको साथ र हजारौं सदस्यहरूको सामूहिक योगदानको परिणाम भएको बताए।
उनले नेता तथा कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक भावना विकास गर्न आग्रह गर्दै ‘म’ केन्द्रित सोचबाट ‘हामी’ केन्द्रित राजनीतिक संस्कृतितर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
लामिछानेले रास्वपालाई आगामी दिनमा देशको नेतृत्व गर्न सक्षम, जिम्मेवार र वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको पनि उल्लेख गरेका छन्।
उनले पार्टीलाई अझ समावेशी, लोकतान्त्रिक र सुदृढ बनाउँदै जनताको विश्वासलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
रास्वपाले हाल जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशनको तयारीलाई तीव्र बनाइरहेका बेला सभापति लामिछानेको यो अभिव्यक्ति पार्टीभित्र देखिएका आन्तरिक प्रतिस्पर्धा र नेतृत्व विवादको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।




