spot_img

१० जिल्लामा फैलियो बर्डफ्लु, झण्डै पाँच लाख पक्षी नष्ट

spot_img
spot_img

काठमाडौं,२३ जेठ । नेपालमा बर्डफ्लु संक्रमण फैलिने क्रम जारी रहँदा हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक तथा घरेलु पक्षीपालन फार्म प्रभावित भएका छन्। संक्रमण नियन्त्रणका लागि सरकारी निकायहरूले व्यापक रूपमा पक्षी तथा अण्डा नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन्।

राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली (एनएएचआईएस) र र्यापिड रेस्पोन्स टोली (आरआरटी) को तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ४ लाख ७९ हजार १५६ वटा पक्षी नष्ट गरिएको छ। त्यस्तै ६ लाख ९४ हजार १९३ वटा अण्डा र १ लाख ८२ हजार ७७५ किलोग्राम पशु आहार पनि नष्ट गरिएको छ।

चालु आर्थिक वर्षमा पहिलो पटक गत चैत ४ गते झापाको सुन्दरहरैँचा–४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको थियो। त्यसपछि संक्रमण कोशी प्रदेशबाट फैलिँदै मधेश, बागमती लगायतका विभिन्न क्षेत्रमा पुगेको हो।

हाल संक्रमण पुष्टि भएका जिल्लाहरूमा सुनसरी, मोरङ, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बारा, पश्चिम नवलपरासी र महोत्तरी रहेका छन्।

संक्रमणबाट सबैभन्दा बढी प्रभावित जिल्ला सुनसरी बनेको छ। त्यहाँ २३ वटा फार्ममा बर्डफ्लु पुष्टि भएको छ। सुनसरीमा मात्रै २ लाख ८५ हजार ५६४ वटा पक्षी र ४ लाख २७ हजार ५८० वटा अण्डा नष्ट गरिएको छ। मोरङमा ११ वटा फार्म प्रभावित हुँदा १ लाख १ हजार ८६० वटा पक्षी नष्ट गरिएको सरकारी तथ्यांकमा उल्लेख छ।

काठमाडौं उपत्यकामा पनि संक्रमण फैलिने क्रम जारी छ। काठमाडौंका ८, ललितपुरका ३ र भक्तपुरका २ वटा फार्ममा बर्डफ्लु पुष्टि भएको छ।काठमाडौंमा मात्रै ३९ हजार ४८१ वटा पक्षी नष्ट गरिएको छ। अधिकारीहरूका अनुसार कोशी प्रदेशमा संक्रमण नियन्त्रणतर्फ उन्मुख देखिए पनि उपत्यकामा नयाँ संक्रमित फार्म थपिनुले चुनौती बढाएको छ।

पशु स्वास्थ्य विज्ञहरूले बर्डफ्लु फैलिनुका पछाडि विभिन्न कारण औँल्याएका छन्। जंगली चराचुरुङ्गीको आवतजावत, फार्म नजिक सिमसार क्षेत्रको उपस्थिति, जैविक सुरक्षा मापदण्डको कमजोर कार्यान्वयन तथा फार्ममा सवारीसाधन र आगन्तुकहरूको अनियन्त्रित प्रवेशलाई प्रमुख जोखिमका रूपमा हेरिएको छ।

त्यसैगरी प्रयोग गरिएका अण्डा क्रेटहरूको उचित निसंक्रमण नगरी पुनः प्रयोग गर्नु तथा जीवित र मरेका पक्षीको सुरक्षित व्यवस्थापन नहुनुले पनि संक्रमण फैलिन सहयोग पुगेको विज्ञहरूको भनाइ छ।

संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रका पक्षी नष्ट गर्ने, अण्डा तथा पशु आहार नियन्त्रणमा लिने, सरसफाइ तथा निसंक्रमण अभियान सञ्चालन गर्ने काम भइरहेको सम्बन्धित निकायले जनाएको छ।

पशु स्वास्थ्य अधिकारीहरूले किसानहरूलाई फार्ममा बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्न, जंगली चरासँगको सम्पर्क रोक्न र पक्षीमा अस्वाभाविक मृत्यु वा रोगको लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय