काठमाडौं,२३ जेठ । एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ।
मलेशियामा जारी प्रतियोगितामा हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ३ बलमा ४० रनमै समेटियो । नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन् । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
हङकङका लागि इकरा सहरले ४ ओभरमा ४ रन दिएर ४ विकेट लिइन् । चान का र मार्यम बिबीले २-२ विकेट लिए । सिउ मेई र जोइलिन धलिवालको खातामा १-१ विकेट रह्यो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो । हङकङका लागि यासमिन दसवानीले अविजित ४२ रन बनाइन् ।
मारिको हिलले २९ रन बनाइन् भने मारिना लाम्पलोह १८ रनमा अविजित रहिन् ।
नेपालका लागि रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेटको योगदान दिए । आजको नतिजाका बावजुद नेपाल क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।




