काठमाडौं,२४ जेठ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।
आइतबार गोरखामा आयोजित रास्वपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा रहेर काम गर्दा उठ्ने प्रश्नहरूको जवाफ दिनु आफ्नो जिम्मेवारी भएको उल्लेख गरे। सोही कारण आफू छानबिन प्रक्रियामा पूर्ण रूपमा सहयोग गरिरहेको उनको भनाइ थियो।
“सार्वजनिक पदमा बसेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भन्ने मान्यताका साथ मैले छानबिन समितिसमक्ष बयान दिएको हुँ,” गुरुङले भने, “बयानका क्रममा कडा प्रश्नहरू पनि आए, तर मैले ती सबैको स्पष्ट र तथ्यपरक जवाफ दिएको छु।”
बयानका क्रममा भएको एक प्रसंग स्मरण गर्दै उनले छानबिन समितिले सम्पत्तिको स्रोतबारे प्रश्न गर्दा आफूले पनि सहज रूपमा प्रतिप्रश्न गरेको बताए। “मलाई ‘यति सम्पत्ति कहाँबाट आयो ?’ भनेर सोधियो। मैले पनि ‘तपाईंहरूको सम्पत्तिको समेत छानबिन गरौँ न’ भनेर जवाफ दिएको थिएँ,” उनले भने।
गुरुङका अनुसार छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगिसकेको छ। आफूले पूर्ण रूपमा सफाइ पाउने विश्वास व्यक्त गर्दै उनले छानबिनबाट सत्य बाहिर आउने बताए।
सम्बोधनका क्रममा गुरुङले आफू निर्दोष सावित भए पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउन सक्ने संकेत पनि गरे। उनले त्यस प्रसंगलाई हल्का व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्दै भने, “यदि मैले सफाइ पाएँ र सरकारले फेरि गृहमन्त्री बनायो भने मन्त्रालयमा बधाई दिन र तस्बिर खिच्न सुरुका दुई महिना नआइदिनुहोला।”
कार्यक्रममा गुरुङले पार्टी संगठन सुदृढीकरणको विषयमा पनि धारणा राख्दै आगामी नेतृत्व जिल्लामै सक्रिय हुनुपर्ने बताए। राजधानीमा बसेर जिल्ला राजनीति सञ्चालन गर्ने प्रवृत्तिले पार्टीलाई दीर्घकालीन लाभ नपुर्याउने उनको भनाइ थियो।
“जिल्लाको सभापति बन्ने व्यक्ति जिल्लामै बसेर जनतासँग जोडिनुपर्छ,” उनले भने, “चुनावका बेला मात्रै मतदाता खोज्ने अभ्यासले संगठन बलियो हुँदैन।”
गुरुङले आफू गृहमन्त्री हुँदा आमनागरिकबाट उल्लेखनीय साथ र सहयोग प्राप्त गरेको स्मरण गर्दै गोरखाबाट निर्वाचित गराएका मतदाता तथा समर्थकप्रति विशेष आभार व्यक्त गरे। उनले जनताको विश्वासलाई आफ्नो राजनीतिक यात्राको सबैभन्दा ठूलो शक्ति भएको बताए।




