जनकपुर,२४ जेठ । मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले लागूऔषध दुव्र्यसनविरुद्धको अभियानमा सरकार प्रतिबद्ध रहेको बताउँदै यसको नियन्त्रणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
नेपाल भारतमैत्री युवा संघले आइतबार जनकपुरधामममा आयोजना गरेको ‘लागूऔषधविरुद्ध जनचेतना अभियान’ कार्यक्रममा बोल्दै वन तथा वातारणमन्त्री चौधरीले लागूऔषधको बढ्दो प्रयोग समाज र विशेषगरी युवा पुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्नुभएको हो । उहाँले युवाहरूलाई दुव्र्यसनबाट जोगाउन जनचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
संघका धनुषा अध्यक्ष बजरंग यादवको अध्यक्षतामा आयोजित कार्यक्रमका वक्ताहरूले लागूऔषधको बढ्दो प्रयोगले समाजमा नकारात्मक असर पारिरहेको भन्दै यसको नियन्त्रणका लागि सरकारी निकाय, शैक्षिक संस्था, अभिभावक तथा समुदायबिच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । वक्ताहरूले विद्यालय तहदेखि नै नियमित सचेतनामूलक कार्यक्रम सञ्चालन गरी युवाहरूलाई लागूऔषधको दुव्र्यसनबाट बचाउनुपर्ने उल्लेख गर्नुभएको थियो ।
वक्ताहरुले लागूऔषधमुक्त समाज निर्माणका लागि यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्दै समाजका हरेक तहमा सचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याए छन्। यस्तै, कार्यक्रममा उपस्थित विद्यार्थी, शिक्षक तथा अन्य सहभागीहरूले पनि लागूऔषधविरुद्ध जनचेतना फैलाउने प्रतिबद्धता जनाएका छन् । आयोजकले आगामी दिनमा पनि समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने तथा लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।
कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका सचेतक तथा सांसद कुमरकान्त झा, प्रदेशसभा सदस्य एव पूर्वमन्त्री शेषनारायण यादव, संघका महासचिव कृष्ण सिंह, नयाँ मुस्कान सुधार केन्द्रका पदाधिकारी, स्थानीय विद्यालयका विद्यार्थी तथा शिक्षक लगायतको सहभागिता थियो ।




