बीरगन्ज,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताहरूले कलैया उपमहानगरपालिकामा सम्पन्न नगर अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन्।
कार्यकर्ताहरूले अधिवेशनबाट निर्वाचित नेतृत्वलाई पुनः निर्वाचनमार्फत हटाउने प्रयास पार्टी विधान र लोकतान्त्रिक मूल्यविपरीत भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार २०८३ साल जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मत प्राप्त गर्दै विजयी भएका थिए। निर्वाचनपछि उनको शपथग्रहणसमेत सम्पन्न भइसकेको थियो।
तर, शपथग्रहण भएको दुई दिनपछि सामाजिक सञ्जालको ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना सार्वजनिक गरिएको भन्दै कार्यकर्ताहरूले आपत्ति जनाएका छन्। रास्वपा समर्थक धिराज पटेलका अनुसार उक्त सूचना कुनै आधिकारिक पत्र, हस्ताक्षर वा जिम्मेवार पदाधिकारीको नामबिनाको साधारण कागजमा सार्वजनिक गरिएको थियो।
कार्यकर्ताहरूले ‘५० प्रतिशतभन्दा बढी मत नपुगेको’ भन्ने आधारमा पुनः निर्वाचन गराइएको दाबी गरिए पनि उक्त विषय निर्वाचनकै दिन किन उठाइएन भन्ने प्रश्न उठाएका छन्। साथै, विजयी घोषणा गरिसकेपछि माला र अबिर लगाएर सम्मान गरिएको अवस्थामा पुनः निर्वाचन गराउनु अनुचित भएको उनीहरूको भनाइ छ।
यसका साथै उपनिर्वाचन सीमित प्रतिनिधिहरूबीच मात्र गराइएको र अधिकांश वडा प्रतिनिधिहरूलाई सहभागी हुन नदिइएको आरोपसमेत लगाइएको छ।
कार्यकर्ताहरूले पार्टी नेतृत्वसँग उपनिर्वाचनको आधार स्पष्ट पार्न, पारदर्शिता कायम गर्न तथा निष्पक्ष ढंगले प्रक्रिया अघि बढाउन माग गरेका छन्। उनीहरूले परिवर्तनको आशामा पार्टीमा आवद्ध भए पनि पछिल्लो घटनाक्रमले निराश बनाएको बताएका छन्।




