spot_img

रास्वपा पर्सा जिल्ला अधिवेशनअघि बीरगन्जमा झडप, ३ घाइते, १ पक्राउ

spot_img
spot_img

बीरगन्ज,२३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनलाई लिएर उत्पन्न विवादले शनिबार वीरगन्जमा उग्र रूप लिएको छ। जिल्ला अधिवेशनका प्रतिनिधि छनोटको विषयमा पार्टीभित्र दुई पक्षबीच भएको विवाद हानाहानमा परिणत हुँदा तीन जना घाइते भएका छन् भने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरगन्ज–९ स्थित होटल गेट वे बीरगन्जमा आइतबार हुने जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया चलिरहेका बेला विवाद चर्किएको थियो। असन्तुष्ट पक्षले प्रतिनिधि चयनमा एकपक्षीयता भएको आरोप लगाउँदै अधिवेशन स्थगित गर्न माग गरेको थियो।

शनिबार दिउँसो पार्टीका सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रिय महाधिवेशन प्रतिनिधि सुधिर पटेल, क्षेत्रीय सभापति राम आर्यसहितको समुहले जिल्ला अधिवेशन स्थगितको माग गर्दै मधेस प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए ।

निर्वाचन समितिले ज्ञापनपत्र प्राप्त गरेपछि करिब दुई घण्टाका लागि प्रक्रिया रोकेको थियो। तर पुनः प्रक्रिया सुरु भएपछि होटल परिसरमै दुई पक्षबीच विवाद बढ्दै गएर हात हालाहालको स्थिति सिर्जना भयो। प्रत्यक्षदर्शीका अनुसार केही कार्यकर्ताले एकअर्कामाथि हेल्मेटसमेत प्रहार गरेका थिए।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको थियो। त्यसपछि झडपमा संलग्न कार्यकर्ताहरू तितरबितर भएका थिए। घटनामा महादेव प्रसाद कुर्मी, गौतम श्रेष्ठ लगायत तीन जना घाइते भएका छन्।

निर्वाचन समितिका संयोजक डा. नन्दन यादवले ले झडपपछि निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको जानकारी दिएका छन्। उनका अनुसार बाँकी प्रक्रिया आइतबार बिहान ८ बजेदेखि पुनः सुरु गर्ने तयारी गरिएको छ।

पर्सामा एक गुटको नेतृत्व संस्थापक जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गर्दै आएका छन् ।उनलाई एक्ल्याउन बाँकी ३ क्षेत्रका सांसदहरु सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य अर्को गुट बनाएर अगाडि बढेका छन् ।

यता जिल्ला सभापति तथा सांसद हरि पन्तले भने प्रतिनिधि चयनमा आफूले कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन्। उनका अनुसार सम्पूर्ण प्रक्रिया पार्टीको विधान र केन्द्रीय निर्देशनअनुसार सञ्चालन गरिएको हो।

रास्वपा पर्साको नेतृत्वका लागि आगामी अधिवेशनमा हरि पन्त र सुशील साह कानु प्रमुख दाबेदारका रूपमा हेरिएका छन्। जिल्ला अधिवेशनको तयारीबीच भएको यो घटनाले पार्टीभित्रको आन्तरिक विवाद अझ स्पष्ट रूपमा बाहिर आएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय