spot_img

सखुवाप्रसौनीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४८२ जना लाभान्वित

spot_img
spot_img

बीरगन्ज,२४ जेठ । पर्साको सखुवाप्रसौनी गाउँपालिका–२, श्रीपुर पञ्चगावामा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४८२ जना स्थानीय बासिन्दाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। गाउँपालिकाको समन्वय, पर्सा ख्रिष्टियन समाजको आयोजनामा तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल को प्राविधिक सहयोगमा श्री दीप नारायण आदर्श नमुना माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति रोग तथा जनरल मेडिसिनसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक औषधि वितरण गरिएको आयोजकले जनाएको छ। साथै रक्तचाप, मधुमेह परीक्षण, नाडी जाँच, तौल मापन, इसिजी र ईकोलगायतका आधुनिक स्वास्थ्य परीक्षण सेवासमेत प्रदान गरिएको थियो।

गाउँपालिका अध्यक्ष जसवन्त यादव ले ग्रामीण क्षेत्रका नागरिकलाई घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले आर्थिक रूपमा कमजोर तथा अस्पतालसम्म सहज पहुँच नभएका नागरिकका लागि शिविर प्रभावकारी सावित भएको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा सहकार्यलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

मुटुरोग विशेषज्ञ डा. अशरफ हुसेन ले ग्रामीण क्षेत्रमा मुटुरोग तथा अन्य जटिल स्वास्थ्य समस्याबारे जनचेतनाको अभाव रहेको बताउँदै शिविरले धेरै बिरामीमा समयमै रोग पहिचान गर्न सहयोग पुगेको बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमहरूमा अस्पतालको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र सखुवाप्रसौनी गाउँपालिकाबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। त्यसैगरी अस्पताल र पर्सा ख्रिष्टियन समाज बीच पनि स्वास्थ्य सहकार्य सम्बन्धी छुट्टै सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार शिविरमा सहभागी बिरामीहरूले नेशनल मेडिकल कलेजमा थप उपचार गराउँदा २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट, स्वास्थ्य शाखा प्रमुख राजेश प्रसाद रौनियार, विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो। पर्सा ख्रिष्टियन समाजका अध्यक्ष सिमोन राई को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोषाध्यक्ष रामप्रसाद घिमिरे ले गर्नुभएको थियो।

शिविरमा अस्पतालका प्रमुख सूचना अधिकृत प्रदीप कुमार चौधरी, क्वालिटी तथा अपरेशन म्यानेजर ब्रज किशोर चौधरी तथा मार्केटिङ म्यानेजर जितेश चन्द्र दास सहित विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय