वीरगन्ज,२४ जेठ । बहुदरमाई नगरपालिका–७ का वडाध्यक्ष वीरेन्द्र प्रसाद यादवले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल दुरुपयोग भएको आरोप स्थानीयवासीले लगाएका छन्।
स्थानीय स्रोतका अनुसार वडाध्यक्षले प्रयोग गर्ने ना १ प ३५०७ नम्बरको सरकारी मोटरसाइकलमा दुई बोरा मल बोकेर लगिएको देखिएको भन्दै त्यसप्रति प्रश्न उठाइएको हो। सरकारी सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको हुन सक्ने आशङ्का गर्दै स्थानीयले घटनाको छानबिन गर्न माग गरेका छन्।
सरकारी साधन तोकिएको कामका लागि मात्र प्रयोग हुनुपर्ने भए पनि व्यवहारमा त्यसको उल्लंघन भएको हुन सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
यद्यपि, यस विषयमा वडाध्यक्ष यादव वा बहुदरमाई नगरपालिकाको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन। मल बोकेको भनिएको घटनाको वास्तविक उद्देश्य के थियो भन्नेबारे पनि स्पष्ट जानकारी आएको छैन।
स्थानीयवासीले घटनाबारे निष्पक्ष छानबिन गरी सरकारी सम्पत्तिको दुरुपयोग भएको हो वा होइन भन्ने सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्।




