विराटनगर,२४ जेठ । कोशी प्रदेश सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने तयारी गरेको छ ।
यस विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वसाधारणसँग सुझाव मागेका छन् ।सामाजिक सञ्जालमार्फत उनले शनिबार मात्र बिदा कायम गरी हप्ताको ६ दिन कार्यालय सञ्चालन गर्ने प्रस्तावबारे राय मागेका हुन् ।
पाँच दिने कार्यप्रणाली प्रभावकारी नभएको, सेवा प्रवाहमा अपेक्षित सुधार नआएको र खर्च तथा इन्धन बचतसमेत उल्लेखनीय नभएको उनको भनाइ छ ।
मुख्यमन्त्रीको सुझाव माग्ने पोस्टमा अधिकांश प्रतिक्रियाकर्ताले आइतबारको बिदा हटाउन समर्थन गरेका छन् ।




