बीरगन्ज,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेशका दुई जिल्लामा हिजो रोकिएको अधिवेशन सहित पाँच जिल्लामा आज नयाँ नेतृत्व चयन गरिने भएको छ ।
मधेशका आठ जिल्लामध्ये हिजो महोत्तरी र रौतहटको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । आजका लागि सिराहा, धनुषा, पर्सा र सर्लाहीको अधिवेशनको मिति तय भएको थियो ।
धनुषाको भने आज नहुने भएको छ । हिजो रोकिएका दुई र थप तीन जिल्लाको अधिवेशन आज गर्न लागिएको मधेश संगठन विभाग प्रमुख कामिनी चौधरीले जानकारी गराइन् । महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाहीको अधिवेशन आज हुन लागेको हो ।
अधिवेशनको प्रतिनिधि विवादले ती दुई जिल्लाको अधिवेशन रोकिएको मधेशबाट प्रतिनिधिसभा सदस्य रहेका एक सांसदले जानकारी गराए ।
उनले भने,‘वैशाख १५ गते पछि विभाग सदस्य बनेकालाई प्रतिनिधि बनाउन नमिल्ने पत्र आएको रहेछ । प्रतिनिधि छनोटको कुरा हिजो मिलाउन समय नपुगेको हुँदा स्थगित भएको हो ।’ मधेश संगठन विभाग प्रमुख चौधरीले प्रक्रिया सक्दासक्दै हिजो ढिलो भएकाले महोत्तरी र रौतहटको अधिवेशन पनि आज गर्न लागिएको जानकारी गराइन् ।
जनकपुर उपमहानगरपालिकाको अधिवेशन नभई जिल्लाको गर्न नमिल्ने हुँदा धनुषाको अधिवेशन रोकिएको चौधरीले जानकारी गराइन् । सम्भवतः जेठ २६ गते धनुषाको अधिवेशन हुने उनले जानकारी गराइन् । बारा र सप्तरीको अधिवेशनको मिति भने तोकिएको छैन ।
जेठ २३ र २४ गते अधिवेशन हुन नसकेका जिल्लामा महाधिवेशनपछि अधिवेशन गरिने रास्वपाले जानकारी गराएको छ । यसै बीच विवादित बनेको जनकपुर उपमहानगरपालिकाको अधिवेशन पुनः आज गर्न लागिएको छ । विधान भन्दा बाहिर रहेर अधिवेशन गरेर उपहानगर सभापति छनोट गरिएपछि अनुशासन आयोगमा उजुरी परेको थियो ।




