spot_img

वातावरण प्रदूषण न्यूनीकरणका लागि बारामा बहस तथा पैरवी कार्यक्रम

spot_img
spot_img

बीरगन्ज,२४ जेठ । स्वास्थ्य कार्यालय बाराको आयोजनामा वातावरण प्रदूषण न्यूनीकरणसम्बन्धी बहस तथा पैरवी कार्यक्रम प्रसौनी गाउँपालिकास्थित श्री बेगा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय तहका स्वास्थ्य तथा शिक्षा शाखाका प्रतिनिधि, शिक्षक–शिक्षिका, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार गिरीले गरेका थिए।

कार्यक्रमका प्रमुख सहजकर्ता जीतपुर–सिमरा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत रविकुमार भास्करले वातावरणीय प्रदूषण अहिले विश्वव्यापी चुनौतीका रूपमा बढ्दै गएको बताए। उनका अनुसार वायु, जल र ध्वनि प्रदूषणका कारण मानव स्वास्थ्य, जैविक विविधता र प्राकृतिक स्रोतहरूमा गम्भीर असर परिरहेको छ।

उनले अव्यवस्थित फोहोर व्यवस्थापन, प्लास्टिकको अत्यधिक प्रयोग, वन विनाश तथा उद्योग–कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँले वातावरणीय संकट झन् गम्भीर बनाइरहेको उल्लेख गरे। समयमै प्रभावकारी कदम नचालिए स्वच्छ हावा, पानी र स्वस्थ वातावरण अभाव हुने चेतावनी उनले दिए।

भास्करले जल प्रदूषणका कारण झाडापखाला, हैजा, टाइफाइडजस्ता रोगको जोखिम बढिरहेको तथा ध्वनि प्रदूषणले मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्ने विषयमा पनि जानकारी गराए।

कार्यक्रममा जलवायु परिवर्तन, अनियमित वर्षा, बाढी, खडेरी तथा कृषि क्षेत्रमा पर्ने असरबारे समेत छलफल गरिएको थियो। सहभागीहरूले वृक्षारोपण, प्लास्टिक न्यूनीकरण, फोहोर व्यवस्थापन र जलस्रोत संरक्षणजस्ता उपाय अपनाउनुपर्नेमा जोड दिएका थिए।

सहभागीहरूले विद्यालय, घरपरिवार र समुदायस्तरबाटै वातावरण संरक्षणका गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमको व्यवस्थापन स्वास्थ्य कार्यालय बाराका फोकल पर्सन भगीरथ चौधरीले गरेका थिए भने सञ्चालन प्रसौनी गाउँपालिकाका स्वास्थ्य प्रमुख सुरेश शाहले गरेका थिए।

कार्यक्रमले वातावरण संरक्षण सरकार मात्र नभई सबै नागरिकको साझा दायित्व भएको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय