काठमाडौं,२४ जेठ । विभिन्न १३ देशका राजदूतको लागि झन्डै चार हजार आवेदन परेको छ । परराष्ट्र मन्त्रालयले करिब तीन हजार जनाबाट ती आवेदन प्राप्त गरेको हो । “करिब तीन हजार जनाबाट झन्डै चार हजार आवेदन परेको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “एकै व्यक्तिबाट एकभन्दा बढी आवेदन पनि परेको छ ।”
परराष्ट्र मन्त्रालयले यही जेठ १४ गते एक सूचना प्रकाशित गर्दै रिक्त रहेकामध्ये १३ देशका राजदूताको लागि आवेदन मागेको थियो ।
परराष्ट्रले अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाको लागि नेपाली राजदूत नियुक्त गर्न खुला आवेदन मागेको थियो ।
परराष्ट्रले आवेदन दिने अन्तिम मिति २०८३ जेठ २२ गते बेलुकी ५ बजे तोकेको थियो । सो अवधिमा झन्डै चार हजार आवेदन परेका हुन् । एकै व्यक्तिल १० वटासम्म आवेदन दिएका छन् अर्थात् एउटा व्यक्तिले आफू १० वटा देशका लागि राजदूत हुन उपयुक्त रहेको भन्दै आवेदन दिएका छन् ।
राजदूत नियुक्ति प्रक्रियाअन्तर्गत इच्छुक तथा योग्य उमेदवारहरूले स्वयंले आफ्नो दरखास्त पेस गर्न सक्ने मात्र होइन अन्य कुनै व्यक्ति तथा निकायले योग्य उमेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था समेत गरिएको थियो ।
रीत नपुगेका वा तोकिएको म्याद नाघी आएका आवेदनहरूलाई छनोट प्रक्रियामा समावेश नगरिने जनाइएको छ ।मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसहरूबाट प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा उमेदवारहरूको सर्टलिस्ट गर्नेछ । त्यसपछि सर्टलिस्टमा परेका उमेदवारहरूलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिने जनाइएको छ ।
परराष्ट्र मन्त्रालयले नेपाली कूटनीतिक इतिहासमा पहिलोपटक राजदूत नियुक्तिको लागि खुला आवेदन आह्वान गरेका थियो ।
राजदूत नियुक्तिका लागि परराष्ट्रले तयार पारेको ‘ट्रम्स अफ रिफरेन्स (टीओआर) एम्बेस्डर अफ नेपाल’ मा राजदूत हुनको लागि १५ वटा न्यूनतम योग्यता निर्धारण गरिएको छ ।योग्यतामा राजदूत हुन कम्तिमा ३५ वर्षको नेपाली नागरिक हुनुपर्नेछ । नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक उपाधि हासिल गरेको हुनुपर्ने छ ।
यस्तै, सरकारी सेवाबाट बर्खास्त गरिएको वा भविष्यमा सरकारी जागिरको लागि अयोग्य घोषित गरिएको व्यत्ति राजदूत हुन पाउने छैनन् । विदेशको कुनै पनि स्थायी वा अस्थायी बसोबास अनुमतिपत्र वा अध्यागमन लाभ धारण गरेको व्यक्ति पनि राजदूत बन्न पाउने छैनन् ।
राजदूतमा हुनुपर्ने न्यूनतम योग्यतामा भ्रष्टाचार वा नैतिक पतनसँग सम्बन्धित कुनै पनि अपराधको लागि अदालतबाट दोषी ठहरिएको हुनु नहुने उल्लेख छ । नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, वा द्विपक्षीय/बहुपक्षीय कूटनीतिमा अनुभव भएको र नेपालको प्रतिनिधित्व गर्न सक्षम व्यक्ति मात्र राजदूत बन्न पाउनेछन् ।
राजदूत हुने व्यक्तिमा अंग्रेजी भाषाको राम्रो ज्ञान हुनुपर्नेछ र आयोजक देशको आधिकारिक भाषाको ज्ञान भए थप राम्रो हुनेछ ।प्रस्तावित पदस्थापना भएको देशमा कुनै पनि प्रकारको स्वार्थको द्वन्द्व वा निहित स्वार्थ हुन नहुने जनाइएको छ । अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा वित्त पोषित कुनै पनि गैरसरकारी संस्थामा हाल कार्यरत व्यक्ति राजदूत बन्न पाउने छैनन् ।
राजदूतको लागि उच्च नैतिक चरित्र र नैतिक हैसियत भएको हुनुपर्नेछ । अत्यधिक कठिन परिस्थितिमा काम गर्न सक्ने र नेपाल सरकार वा अन्य अन्तर्राष्ट्रिय निकायहरूद्वारा राखिएको कुनै पनि कालोसूचीमा नभएको हुनुपर्नेछ ।
यदि पहिले कुनै विदेशी राज्यद्वारा तलब पाउने पदमा नियुक्त गरिएको छ भने, त्यो भूमिका छोडेको कम्तिमा १० वर्ष पूरा गरेको हुनुपर्नेछ । कूटनीतिक सम्बन्ध र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि र सम्बन्धित अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासहरूको ज्ञान भएको व्यक्ति राजदूतको लागि उपयुक्त मानिनेछ ।




