वीरगन्ज,२४ जेठ । विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालले वीरगन्ज महानगरपालिका–४ स्थित गणेशमान सिंहको सालिक परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
साताव्यापी कार्यक्रमअन्तर्गत गरिएको उक्त गतिविधिमा गणेशमान चोक क्षेत्रको सरसफाइसँगै त्यहाँ रहेका रुख–बिरुवाको काँटछाँट गरी वातावरणीय सौन्दर्यीकरण गरिएको थियो। साथै पाँच वटा नयाँ बिरुवा रोपेर हरियाली प्रवर्द्धनको सन्देश दिइएको आयोजकले जनाएको छ।
प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले वातावरण, वनस्पति तथा जीवजन्तुको संरक्षण र प्रवर्द्धनका लागि संस्था निरन्तर सक्रिय रहेको बताए। उनका अनुसार विश्व वातावरण दिवसको अवसरमा मात्र नभई वर्षभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ।
यसअघि पनि वीरगन्जस्थित ऐतिहासिक तथा धार्मिक स्थल भिस्वा डाँडामा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको उनले जानकारी दिए।
कार्यक्रममा सहभागी वक्ताहरूले स्वच्छ र हरियाली वातावरणले मात्र मानव जीवन सुरक्षित र स्वस्थ रहने भन्दै सार्वजनिक स्थानको संरक्षणमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा समाजसेवी, सामुदायिक प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय अभियन्ताहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार वातावरण संरक्षण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले साताव्यापी रूपमा सरसफाइ, वृक्षारोपण तथा सचेतनामूलक कार्यक्रमहरू विभिन्न स्थानमा सञ्चालन भइरहेका छन्।




