वीरगन्ज,२४ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय बन्न सफल भएको छ। उत्कृष्ट कार्यसम्पादनका आधारमा कार्यालय प्रमुख सुदीप राज पाठकलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार लागूऔषध नियन्त्रण, भन्सार चोरी पैठारी, मानव बेचबिखन नियन्त्रण, ज्यानसम्बन्धी अपराध र राजस्व अनुसन्धानका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिएको छ।
फैसला कार्यान्वयनतर्फ ७७५ जनाबाट १५२ वर्षभन्दा बढी कैद असुल गर्नुका साथै ७ करोड ६६ लाख रुपैयाँभन्दा बढी जरिवाना उठाइएको छ।
लागूऔषध नियन्त्रण अभियानमा ४३ मुद्दा दर्ता गरी ५९ जना पक्राउ परेका छन् भने ठूलो परिमाणमा गाँजा, चरेश, ब्राउन सुगर तथा विभिन्न औषधिजन्य लागूऔषध बरामद गरिएको छ। साथै हुण्डी कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरी ६२ लाखभन्दा बढी रकम नियन्त्रणमा लिइएको छ।
मानव बेचबिखन नियन्त्रणतर्फ ३ मुद्दा दर्ता भई ५ जना पक्राउ परेका छन् भने ३९ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ।
त्यसैगरी प्रहरीले अवैध गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत ७ बिघा १५ कठ्ठा जमिनमा लगाइएको ४ लाखभन्दा बढी गाँजाका बोट नष्ट गरेको छ। अवैध मदिरा उत्पादनविरुद्ध कारबाही गर्दै १९ वटा भट्टी नष्ट गरी ठूलो परिमाणमा तयारी मदिरा र कच्चा पदार्थ बरामद गरिएको छ।
भन्सार चोरी पैठारी नियन्त्रणतर्फ ४९ वटा सवारीसाधन नियन्त्रणमा लिई करिब ४४ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
गम्भीर अपराध नियन्त्रणमा पनि सफलता हासिल गर्दै ज्यानसम्बन्धी कसूरमा संलग्न ७ जनालाई भारतको मोतिहारीबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। समग्रमा पर्सा प्रहरीको एक वर्षे कार्यसम्पादन लागूऔषध नियन्त्रण, सीमा अपराध नियन्त्रण र राजस्व सुरक्षामा प्रभावकारी देखिएको छ।




