बीरगन्ज,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे महोत्तरी जिल्ला अधिवेशन विवादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ। अधिवेशनमा दुई पक्षबीच सहमति नजुटेपछि प्रक्रिया रोकिएको हो।
शनिबार (जेठ २३) महोत्तरीको जलेश्वरमा सुरु भएको जिल्ला अधिवेशन दोस्रो दिनसम्म आइपुग्दा पनि सहमति हुन नसकेपछि अवस्था जटिल बनेको निर्वाचन संयोजक मनिषकुमार साहले जानकारी दिएका छन्। उनका अनुसार प्रतिनिधिहरूसँगको छलफल र शान्ति–सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्म अधिवेशन स्थगित गरिएको हो।
उक्त निर्णयमा केन्द्रीय सदस्य डा. नन्दन यादव, देवनारायण महतो, प्रतिनिधिसभा सदस्य प्रमोद महतो, निर्वाचन समिति सदस्य महेश पुर्वे, पूजा झा लगायतका नेता–कार्यकर्ताको सहमति रहेको बताइएको छ।
यस्तै, धनुषा जिल्लामा पनि रास्वपाभित्रको विवाद अझै समाधान हुन सकेको छैन। असन्तुष्ट एक समूहले शनिबार रातिदेखि नै पार्टी कार्यालयमा तालाबन्दी गरेको छ।
अध्यक्ष लक्ष्मेश्वर यादवले मनोमानी गरेको आरोप लगाउँदै तालाबन्दी गरिएको उनीहरूको दाबी छ। यसअघि पालिका स्तरका अधिवेशनहरूमा समेत विवाद चर्किँदा कुटाकुटसम्म भएको घटनाले स्थिति अझै तनावपूर्ण बनेको बताइएको छ।




