काठमाडौं,२७ जेठ । निर्वाचन आयोगले दल त्याग गरेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। आयोगले सूचना जारी गर्दै २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भई पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिहरू स्वतः पदमुक्त भएको जनाएको हो।
आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ तथा नियमावली, २०७४ को नियम २२ अनुसार दल त्याग गरेपछि जनप्रतिनिधिको पद कायम रहँदैन। एमालेको केन्द्रीय सचिवालयले दल त्यागसम्बन्धी निर्णय आयोगमा पठाएपछि सोही आधारमा जेठ २६ गतेदेखि पद रिक्त भएको निर्णय गरिएको हो।
पदमुक्त हुनेहरूमा ओखलढुंगाको मोलुङ गाउँपालिकाका कमल बहादुर बानिया (वडा नं. १) र कमल तामाङ (वडा नं. ६), चम्पादेवी गाउँपालिका–७ का शुरेश कुमार थापा, पाल्पाको माथागढी गाउँपालिका–१ का राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका–७ का होमप्रसाद बजगाई रहेका छन्।
त्यस्तै, मोरङको लेटाङ नगरपालिका–४ का रामकुमार श्रेष्ठ र रंगेली नगरपालिका–१ का महेश कुमार खनाल तथा दाङको घोराही उपमहानगरपालिका–४ का मधुसुदन शर्मा पनि पदमुक्त भएका छन्। दल परिवर्तनसँगै जनप्रतिनिधिको पद गुम्ने कानुनी व्यवस्थाअनुसार आयोगको यो निर्णय कार्यान्वयनमा आएको हो।




