काठमाडाैं,२७ जेठ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले विद्यार्थीहरूको व्यक्तिगत विवरण गोप्य राख्न देशभरका विद्यालयहरूलाई कडा निर्देशन दिएको छ।
केन्द्रले जेठ २६ गते जारी गरेको परिपत्रमार्फत विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेलजस्ता संवेदनशील विवरण अभिभावकको स्वीकृतिविना कुनै पनि व्यक्ति वा संस्थालाई नदिन स्पष्ट रूपमा भनेको छ।
पछिल्लो समय केही विद्यालयहरूले विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा शैक्षिक परामर्शदातृ संस्था, ट्युसन सेन्टर तथा विभिन्न व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराएको गुनासो आएपछि केन्द्रले यस्तो कदम चालेको हो। यस्ता गतिविधिका कारण विद्यार्थीहरू अनावश्यक मानसिक दबाबमा परेको भन्दै केन्द्रमा उजुरीहरू परेको जनाइएको छ।
केन्द्रका निर्देशक नीलकण्ठ ढकाल द्वारा हस्ताक्षरित परिपत्रमा विद्यार्थीको गोपनीयता संरक्षण गर्दै सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्न सबै विद्यालयलाई सतर्क रहन आग्रह गरिएको छ।
यसका साथै परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय एकाइहरूलाई समेत आवश्यक सहजीकरण गर्न अनुरोध गरिएको केन्द्रले जनाएको छ।




