काठमाडौं,२७ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका ४७ वर्षीय वेदबहादुर सुनुवार, झापाका ४५ वर्षीय अनिल अग्रवाल र तनहुँकी ३७ वर्षीया विवेक अधिकारी रहेका छन्। उनीहरू हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए।
प्रहरीका अनुसार सुमन शाहीले क्रोएशिया पठाइदिने भन्दै तीन जना पीडितबाट करिब १९ लाख रुपैयाँ असुलेका थिए। यस्तै, वेदबहादुर सुनुवारले स्विट्जरल्यान्ड पठाउने प्रलोभनमा एक जनाबाट १ लाख ४० हजार रुपैयाँ, अनिल अग्रवालले अष्ट्रिया पठाउने भन्दै २ लाख रुपैयाँ तथा विवेक अधिकारीले फ्रान्स पठाउने भन्दै ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई भक्तपुर, बुढानिलकण्ठ र टोखा क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।




