काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव पराजित भएका छन्।
खुला (राष्ट्रिय) तर्फको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका मन्त्री यादव निर्वाचनमा आवश्यक मत प्राप्त गर्न असफल भएका हुन्। उक्त पदका लागि २१० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए।
निर्वाचनमा कुल २ हजार ९५९ मत खसेकोमा मन्त्री यादवले ८६९ मत प्राप्त गरेका थिए। तर, अन्य प्रतिस्पर्धीहरूको तुलनामा उनको मत परिणाम कमजोर देखिएको हो।
यसैबीच, सरकारमा सहभागी अन्य आठमध्ये सात मन्त्री भने रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचित हुनेमध्ये परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी रहेका छन्।
पार्टीको संशोधित विधानअनुसार केन्द्रीय समिति १५८ सदस्यीय रहनेछ। पहिलो चरणको निर्वाचनबाट ९९ सदस्य चयन भइसकेका छन्। बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने सात प्रदेशका सभापति पदेन सदस्यका रूपमा स्वतः केन्द्रीय समितिमा रहनेछन्।
निर्वाचनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी २ हजार ६०७ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन्। त्यसपछि कानुनमन्त्री सोविता गौतमले २ हजार ५९४, परराष्ट्रमन्त्री शिशिर खनालले २ हजार ४९५ र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले २ हजार ९४ मत प्राप्त गरेका छन्।
भूगोलतर्फ सामाजिक सुरक्षामन्त्री सीता बादीले १ हजार ७५१, स्वास्थ्य मन्त्री निशा मेहताले १ हजार ८६१ तथा कृषि मन्त्री गीता चौधरीले ८९० मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार प्रवास क्षेत्रबाट प्राप्त मत पनि अन्तिम परिणाममा समावेश गरिएको छ।




