बीरगन्ज,३१ जेठ । लिटल बडी प्रि स्कुल मा युकेजी उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गरेका विद्यार्थीहरूको सम्मानमा ग्राजुएसन सेरेमोनी भव्य रूपमा सम्पन्न भएको छ।
बीरगन्ज महानगरपालिका–८, पानीटंकीस्थित विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले ग्राजुएसन गाउन र टोपी लगाएर प्रमाणपत्र ग्रहण गर्दै आफ्नो शैक्षिक यात्राको प्रारम्भिक उपलब्धि उत्सवका रूपमा मनाएका थिए।
कार्यक्रम विद्यालयका प्रिन्सिपल विजय बल को अध्यक्षता तथा डा. प्रिति यादव को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा वक्ताहरूले प्रारम्भिक बाल शिक्षामा विद्यालयले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै गुणस्तरीय, बालमैत्री र अनुशासित शिक्षण वातावरणले बालबालिकाको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले यस्ता ग्राजुएसन कार्यक्रमले बालबालिकामा आत्मविश्वास र जिम्मेवारीबोध बढाउने धारणा राखे।
कार्यक्रममा प्याब्सन वीरगञ्ज महानगर का अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, कोषाध्यक्ष सुरज पटेल लगायत विभिन्न सामाजिक तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
समारोहको विशेष आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका गीत, नृत्य तथा सांस्कृतिक कार्यक्रमहरू थिए। साना बालबालिकाको प्रस्तुति देखेर अभिभावक तथा अतिथिहरू मन्त्रमुग्ध भएका थिए।
अभिभावकहरूले विद्यालयले पढाइसँगै बालबालिकाको सिर्जनशीलता, अनुशासन र सामाजिक व्यवहार विकासमा पनि ध्यान दिएको भन्दै प्रशंसा व्यक्त गरेका छन्। विद्यालयले यस्तो कार्यक्रमले बालबालिकालाई आगामी शैक्षिक यात्राप्रति थप प्रेरित र उत्साहित बनाउने विश्वास व्यक्त गरेको छ।




