वीरगन्ज,०१ असार । जितपुरसिमरा उपमहानगरपालिका–७ भगिरथ लाइनस्थित वीरगन्ज–पथलैया सडकखण्डमा आइतबार भएको स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन्।
जितपुरबाट सिमरातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३९ प २६८६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा १६ वर्षीया सुप्रिया मोक्तान गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि एलएस न्युरो अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटरको पछाडि सवार १६ वर्षीया सुप्रिया रुम्बा घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको र हाल अस्पतालमै उपचार भइरहेको बताइएको छ। प्रहरीले दुर्घटनाग्रस्त स्कुटर नियन्त्रणमा लिई घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।




