बीरगन्ज,३१ जेठ । प्रभु साहले विदेशी नागरिकलाई नेपालमा सरकारी जागिर र वंशजको नागरिकता दिन नहुने बताएका छन्। आम जनता पार्टी (आजपा) ले मधेस प्रदेश विस्तारिक बैठकका क्रममा बोल्दै साहले राष्ट्रियताको विषयमा वर्तमान सरकार चुकेको आरोप लगाए।
उनका अनुसार विदेशी नागरिकलाई सरकारी सेवामा प्रवेश गराउनु तथा वंशजको नागरिकता दिनु देशको हितविपरीत कदम हो। उनले यस्ता नीतिगत व्यवस्थाले राष्ट्रिय स्वार्थ कमजोर बनाउने दाबी गरे।
साहले नेपालबाट पूँजी बाहिरिने क्रम बढिरहेको र राज्यका संवेदनशील डाटा विदेशी पक्षलाई सुम्पिने विषयसमेत चिन्ताजनक रहेको बताए। साथै उनले हाल अघि बढाइएको वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयकमा विदेशी नागरिकलाई प्रमुख कार्यकारी अधिकृत (CEO) बनाउन सकिने प्रावधानप्रति पनि आपत्ति जनाए।
उक्त विधेयकअनुसार कोषको व्यवस्थापन गर्न गठन हुने संस्थाको CEO पदमा निश्चित समयका लागि विदेशी नागरिक वा वैदेशिक स्थायी आवासीय अनुमति प्राप्त व्यक्तिलाई नियुक्त गर्न सकिने व्यवस्था रहेको उल्लेख छ। साहले यसलाई पनि राष्ट्रिय हितविपरीत भएको टिप्पणी गरे।
उनले सरकारको नीति र व्यवहारबीच तालमेल नरहेको आरोप लगाउँदै सेवाग्राहीको भीड घटाउने वाचा विपरीत सरकारी कार्यालयमा झन् लाइन बढेको र करार कर्मचारी घटाउने घोषणा उल्टै भर्ती केन्द्र बनेको बताए।
साहका अनुसार यस्ता नीतिगत अभ्यासहरूले जनतामा निराशा बढाएको र सरकारप्रतिको विश्वास कमजोर बनाएको छ।




