spot_img

मधेस ट्राभल मार्ट २०२६ सम्पन्न, भारतीय बजारसँग पर्यटन जोड्ने पहल

spot_img
spot_img

वीरगन्ज,३१ जेठ । मधेस प्रदेशको पर्यटन प्रवर्द्धन तथा यहाँका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित आयोजित ‘मधेस ट्राभल मार्ट २०२६’ आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।

चार दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रम नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको थियो भने नाटा (NATTA) मधेस प्रदेशले समन्वय तथा सहजीकरण गरेको थियो। कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायी, टुर अपरेटर, सञ्चारकर्मी, कन्टेन्ट क्रियटर तथा पर्यटन अभियन्तासहित २०० भन्दा बढीको उल्लेखनीय सहभागिता रहेको थियो।

नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार कार्यक्रममा सहभागीहरूलाई मधेस प्रदेशका धार्मिक स्थल, सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र स्थानीय परिकारबारे प्रत्यक्ष जानकारी गराइएको थियो। भारतका विभिन्न सहरहरू—रक्सौल, पटना, दरभंगा, सीतामढी, मुजफ्फरपुर, वाराणसी, अयोध्या र कोलकाताबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन वीरगञ्जस्थित होटल सरोवर पोर्टिकोमा गरिएको थियो। उद्घाटन सत्रमा बीटुबी बैठक, प्यानल डिस्कसन तथा ‘जीतपुरसिमरा नेपाल मेयर नाइट’ जस्ता कार्यक्रम आयोजना गरिएका थिए। सहभागीहरूलाई महागढीमाई मन्दिर दर्शन गराइनुका साथै पर्यटनसम्बन्धी अन्तरक्रियात्मक सत्रहरू पनि सञ्चालन गरिएका थिए।

कार्यक्रमअन्तर्गत आयोजना गरिएको फाम ट्रिपमा सहभागीहरूलाई अमलेखगञ्जस्थित सिद्धबाबा हाइकिङ रुट, पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी, बर्दिबासस्थित तुलेश्वर महादेव मन्दिर तथा जनकपुरधामका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गराइएको थियो।

कार्यक्रमको समापन जनकपुरधामस्थित पौवा होटलमा सम्पन्न भएको थियो। यस क्रममा सहभागीहरूले जानकी मन्दिर दर्शन, गंगा आरतीमा सहभागिता तथा चियापान कार्यक्रममा उपस्थिति जनाएका थिए।

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले मधेस प्रदेशको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। आयोजकका अनुसार ट्राभल मार्टले भारतीय पर्यटकको आगमन वृद्धि गर्नुका साथै मधेसका पर्यटकीय गन्तव्यलाई सशक्त रूपमा पर्यटन बजारसँग जोड्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय