काठमाडौं,३१ जेठ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वैदेशिक रोजगारीका क्रममा १,२९४ नेपालीले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार साउन १ गतेदेखि वैशाख मसान्तसम्मको अवधिमा यति ठूलो संख्यामा मृत्यु भएको हो।
केवल वैशाख महिनामै १५३ जना नेपालीको मृत्यु भएको बोर्डको तथ्यांकले देखाएको छ।
बोर्डको विवरणअनुसार पछिल्लो १० वर्ष १० महिनामा वैदेशिक रोजगारीका क्रममा कुल ११,९८८ नेपालीको मृत्यु भएको छ।
वार्षिक तथ्यांक हेर्दा २०७२/७३ मा ८१६, २०७३/७४ मा ७५६, २०७४/७५ मा ८२१, २०७५/७६ मा ७५४ र २०७६/७७ मा ६६१ जनाको मृत्यु भएको थियो।
त्यस्तै, २०७७/७८ मा १,२४२, २०७८/७९ मा १,३९५, २०७९/८० मा १,२०८, २०८०/८१ मा १,४५८ र २०८१/८२ मा १,५८३ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्।
वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको प्रमुख आधार भए पनि बढ्दो मृत्यु दरले श्रमिक सुरक्षाको विषय फेरि गम्भीर बहसमा आएको छ।




