सर्लाही,३१ जेठ । सर्लाहीको बागमती नगरपालिका–९, निर्माण चोकमा आइतबार बिहान इभी गाडीको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
अर्का एक जना गम्भीर घाइते भएका छन् । बिग्रिएर टुचन लगाइ तानिरहेको बागमती प्रदेश ०३००१ ज. ०७७६ नम्बरको इभी हायस गाडीले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया जयकुमारी देवीको मृत्यु भएको हो ।
इभी गाडीलाई प्रदेश २–०२–००१ ह. १८७९ अटोले तानेर मर्मतका लागि लैजाँदै गर्दा बाटोमा हिँडिरहेका जयकुमारी देवी र अर्का स्थानीय ४० वर्षीया पुनमदेवी यादवलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि वीरगन्जतर्फ लैजाने क्रममा जयकुमारी देवीलाई प्रादेशिक अस्पताल कलैया, बारा पुर्याएर चेकजाँच गर्दा मृत घोषणा गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा घाइते पुनमदेवीको कलैयास्थित एक निजी अस्पतालमा उपचार जारी छ । महिलालाई ठक्कर दिने गाडी, अटो तथा दुवै सवारी चालकलाई नियन्त्रणमा लिइएको डिएसपी सुवेदीले बताउनुभयो ।




